श्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेशसहित व्यक्ति नियन्त्रणमा

श्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेशसहित व्यक्ति नियन्त्रणमा

काठमाडौं, असार २२\

बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा र शनिश्चरे ईलाकाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । असार २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित भारत घर बताउने अन्दाजी ३६ वर्षिय सत्येन्द्र कुमारलाई नियन्त्रणमा लिएको छ । बिआर २८ एडी ९२५८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनको साथमा भारतीय नोट फेला परेको हो ।

त्यस्तै असार १८ गते सोही गुल्मले करीव १० किलो २ सय ३० ग्राम चरेशसहित भारत घर बताउने अन्दाजी २१ वर्षिय भरत साह र १८ वर्षिय मनिष कुमारलाई नियन्त्रणमा लिएको छ ।

बीआर ०५ बी.ई. ०७६७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुले  मोटरसाईकलको हेल्मेट र सिटमुनी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा चरेश  फेला परेको हो । नियन्त्रणमा लिईएकाहरुलाई बरामद रुपैयाँ, चरेश र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।