ऐतिहासिक धारा पुनःनिर्माण

ऐतिहासिक धारा पुनःनिर्माण

ललितपुर, २४ असार :

ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी) उत्खनन गरेको छ । यसक्रममा महानगरले सो स्थानमा उद्यान निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएको धारालाई पुन निर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ । महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रुपमा सो धारा पुनःनिर्माण गरिएको हो ।

उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिनुभयो । उहाँको अनुसार हाल ललितपुर महानगरपालिका र समाजका सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित पिउने पानी स्वचालित रुपमा सञ्चालित छ । ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काले ललितपुर–४ जावलाखेल मोसिख्योमा उद्यान निर्माण गर्नेक्रममा पुरातात्विक महत्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि उत्खनन गरेर पुनः निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्खनन गर्नेक्रममा भेटिएको धारा (जरुँहिटी) ताम्राकारसमाजसँग सम्बन्धित भएकाले आउने दिनहरुमासमाजले नै धाराको संरक्षण गर्नेछ ।

” महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनःनिर्माण गर्नेक्रममा धारा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका–४ जावलाखेलका स्थानीय रामकुमार पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो सम्पदालाई संरक्षण गर्नु राम्रो हो । जरुँहिटी निर्माण गरेपछि बाटो हिँड्नलाई तिर्खाएकोबेला प्रशोधित शुद्ध पानी पिउन सहज भएको छ ।” 

राष्ट्रिय समाचार समिति (रासस)