अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं, असार २५

सुर्खेतको सुर्खेत बिरेन्द्रनगर नगरपालिका–१२ हरियाली टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका–७ घर भएका २६ वर्षीया राधिका बुढा र सुर्खेत बिरेन्द्रनगर नगरपालिका–३ बस्ने २८ वर्षीय संजय केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

धनकुटाको साँगुरीगढी गाउँपालिका–१० ताम्राङ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित साँगुरीगढी गाउँपालिका–९ सालुम बस्ने २६ वर्षीय लक्ष्मण राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले को.१९ प ९८७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

मोरङको लेटाङ नगरपालिका–६ सुकेचौरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने ३२ वर्षीय अभिषेक मगर र २४ वर्षीय बाराक लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले अभिषेकको कोठा तलासी गर्दा उक्त पदार्थ सहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।