चार दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग खुल्यो

चार दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग खुल्यो

दमौली (तनहुँ), २६ असार :

पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरा हटाइएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो । पहिराले विभिन्न ठाउँमा ठूलाठूला ढुङ्गा खसेपछि गत शनिबारदेखि उक्त मार्ग अवरुद्ध थियो । स्थानीयवासी सिद्धान्त थापामगरका अनुसार व्यास नगरपालिका–१३ बेलबास निउरोघारीमा गएको पहिरो सोमबार नै हटाइएको छ भने साना पहिरा मङ्गलबार बिहानबाट हटाइएको थियो । उहाँले भन्नुभयो, “ठूला ठूलो ढुङ्गा खसेका ठाउँमा सोमबार नै पहिरा हटाइएको छ, अरु सहायक बाटोमा मङ्गलबार बिहानदेखि काम सुरु गरिएको थियो ।

” गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटोदूरीको वैकल्पिक सडकका रूपमा उक्त सडकलाई लिने गरिएको छ । गण्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीबाट व्यास –१३ को सोढेसम्म १० किलोमिटर कालोपत्रको तयारी गरे पनि काम सन्तोषजनक छैन । उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्नपश्चात बाटो छोटिन्छ ।

पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ । पहिराले विद्युत् पोल मर्मतमा समस्या बुद्धसिंह मार्गअन्तर्गत तनहुँको सुडे साराङघाट क्षेत्रमा पहिरा गएपछि विद्युत् पोल ढलेर विद्युत् अवरुद्ध भएको छ ।

पहिरो हटाउन ढिलाइ हुँदा विद्युत् पोल मर्मत गर्न समस्या भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । दमौली सुडे साराङघाट खण्डमा ठाउँ–ठाउँमा पहिरो गएको र सेती नदीमा आएको बाढीले सडक भत्काउँदा विद्युत् पोल मर्मतमा समस्या भएको वितरण केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यस खण्डमा १६ वटा पोल ढलेको छ ।

पोल ढलेपछि साराङघाट सबस्टेशनबाट विद्युत् आपूर्ति हुने देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका केही भागमा विद्युत् अवरुद्ध भएको छ । सडकको पहिरो छिटो पन्छाएको खण्डमा विद्युत् मर्मत गराउन सहज हुने प्रमुख रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरो नहटाउँदासम्म विद्युत् मर्मत गर्न समस्या भइरहेको छ । आवश्यक पोल तार लैजान सहज हुन्थ्यो ।” 

राष्ट्रिय समाचार समिति (रासस)