छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, असार २६

चितवनको भरतपुर महानगरपालिका–१० बिशाल चोकमा काठमाडौंबाट काकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०३५३ नम्बरको बसको ठक्करबाट साइकलयात्री भरतपुर महानगरपालिका–११ भोजाड बस्ने ७२ वर्षीय खेमलाल अधिकारीको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रामेछापको मन्थली नगरपालिका–७ कल्लेरीमा मन्थलीबाट पिङ्खुरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३९०९ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर मंगलबार बेलुकी दुर्घटना हुँदा बोलेरोमा सवार मन्थली नगरपालिका–७ कल्लेरी गणेशथान बस्ने ६५ वर्षीया माया विकको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बोलेरो चालकको मन्थली अस्पताल रामेछापमा र बोलेरोमा सवार ९ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । 

रोल्पाको रून्टिगढी गाउँपालिका–६ स्याला स्थित सडकमा रा.१ ख २१३१ नम्बरको मिनी ट्रक मंगलबार राति दुर्घटना हुँदा चालक रून्टिगढी गाउँपालिका–६ निगालपानी बस्ने ३२ वर्षीय महेश थापाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मिनी ट्रकमा सवार १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको छ । 

मोरङको सुनवर्षी नगरपालिका–६ खिर्किडाँगी स्थित सडकमा झपडतलबाट खिर्किडाँगीतर्फ जाँदै गरेको को.१ प ६३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन दासको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।