खुम्चियो मुलुकको निर्यात व्यापार, ११ महिनामा एक खर्ब ३९ अर्बको सामान निर्यात

खुम्चियो मुलुकको निर्यात व्यापार, ११ महिनामा एक खर्ब ३९ अर्बको सामान निर्यात

काठमाडौं, असार २६

मुलुकको निर्यात व्यापार खुम्चिएको छ ।  राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो ११ महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात तीन प्रतिशतले घटेर एक खर्ब ३९ अर्ब २६ करोड कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२ दशमलव सात प्रतिशतले कमी आएको थियो । 

गन्तव्यका आधारमा भारततर्फको निर्यातमा चार दशमलव पाँच प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, अन्य मुलुकतर्फको निर्यातमा एक दशमलव सात प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, चिया लगायतका वस्तुको निर्यात घटेको छ । 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०-८१ को एघार महिनामा कुल वस्तु आयात एक दशमलव आठ प्रतिशतले कमी आई १४ खर्ब ५३ अर्ब ७० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुक मध्ये भारतबाट भएको आयात तीन दशमलव एक प्रतिशतले घटेकोमा चीनबाट भएको आयात ३४ दशमलव आठ प्रतिशतले बढेको छ र अन्य मुलुकबाट भएको आयात २० प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, विद्युत्तीय उपकरण, हवाइजहाजको स्पेयर पार्टपुर्जा, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । 
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०-८१ को ११ महिनामा कुल वस्तु व्यापार घाटा एक दशमलव सात प्रतिशतले कमी आई १३ खर्ब १४ अर्ब ४४ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलव दुई प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दशमलव छ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौं दशमलव सात प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ३७ अर्ब १३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ३८ अर्ब ४७ करोड बराबरको भएको राष्ट्र प्रतिवेदनमा उल्लेख छ ।