छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, साउन ६

हुम्ला, चंखेली गाउँपालिका–२ रानीसरास्थित सडकमा रानीसराबाट गौरीसल्लातर्फ जाँदै गरेको भे.२ त १७७२ नम्बरको ट्याक्टरमा ठोक्किएर सर्केगाड गाउँपालिका–७ बस्ने धनकृष्ण जैशीको छोरा १२ वर्षीय दिपेश जैशीको शनिबार दिउँसो मृत्यु भएको हो । ट्याक्टरको पिछा गरी दौडने क्रममा चालकले ब्रेक लगाउँदा ट्याक्टरको ट्रलीको पछाडिको भागमा ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

काभ्रेको मण्डनदेउपुर नगरपालिका–११ चाँखोला पुलमा कुन्ताबेशीबाट पाँचखालतर्फ जाँदै गरेको बा.३५ प ३१४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–११ जैसी टोल बस्ने २६ वर्षीय मिलन काफ्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  

मोरङको उर्लाबारी नगरपालिका–४ बक्राहास्थित सडकमा पथरीबाट उर्लाबारीतर्फ जाँदै गरेको मे.१ ख २३६३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२ सुनझोरा बस्ने ६५ वर्षीय गज धिमालको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको अरनिको अस्पताल हुँदै बिएण्डसि अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीको पोखरा महानगरपालिका–६ हल्लन चोकमा ग.३ च ५४३७ नम्बरको हाईलक्स र ग.११ प ९१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका–८ बस्ने २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । हाईलक्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।