सीएनआई सर्वेक्षण ः उत्पादनमुलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतको संकुचन

सीएनआई सर्वेक्षण ः  उत्पादनमुलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतको संकुचन

काठमाण्डौं, साउन १०


आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा उत्पादनमुलक उद्योगहरुको मागमा थप १३ दशमलव ५३ प्रतिशतले संकुचन आएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर) को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक उद्योगहरुको मागमा कमी आएको देखाएको हो ।

गत वर्ष अघिल्ले वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक क्षेत्रको मागमा तीन दशमलव शुन्य चार प्रतिशतले गिरावट आएको थियो । यस अवधिमा उत्पादन तथा सेवामुलक उद्योगहरुको संयुक्त रुपमा हेर्दा भने दुई दशमलव ६४  प्रतिशतले मागमा कमी आएको देखिएको छ ।

यस अवधिमा उद्योगहरुको आयमा समेत ह्रास आएको पाईएको छ । सर्वेक्षणमा सहभागी उद्योगीहरुले अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा तीन दशमलव ८७ प्रतिशतले आय घटेको जनाएका छन् । यो भन्दा अघिल्लो  त्रैमासमा पनि एक दशमलव ८७ प्रतिशतले आयमा ह्रास आएको जनाएका थिए । माग र राजश्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कूल उद्योगहरुमध्ये ६५ दशमलव ५७ प्रतिशतले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेको समेत जनाएका छन् । 


उद्योगीहरुले अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गर्ने गरेको पाइएको छ । यस सर्वेक्षणमा सहभागी ५४ दशमलव ३९ प्रतिशत उद्योगहरुले अझै पनि जेनेरेटरको प्रयोग गर्दै आएको जनाएका छन् । यसले उत्पादन लागतमा १२ दशमलव ८९ प्रतिशतले वृद्धि भएको पनि जनाइको छ । 


सर्वेक्षणका सहभागी उद्योगहरुले आफ्नो कुल चालु पुँजी कर्जा ४२ दशमलव ७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको जनाएका छन् । यो अघिल्लो त्रैमासको तुलनामा दुई दशमलव ७१ प्रतिशतले बढी हो । यस किसिमको कर्जाको औसत ब्याज दर ११ दशमलव २८ रहेको जनाइएको छ ।