क्यालिफोर्नियामा इतिहासकै सातौँ ठूलो आगलागी

क्यालिफोर्नियामा इतिहासकै सातौँ ठूलो आगलागी

सिको, संयुक्त राज्य अमेरिका, १३ साउन (रासस / एएफपी) 

उत्तरी क्यालिफोर्नियाको आगलागी पश्चिमी अमेरिकी राज्यमा अहिलेसम्मकै ठूलोमध्ये एक भएको अधिकारीहरूले शनिबार बताएका छन् । ‘क्यालिफोर्निया पार्क फायर’ शनिबार साँझसम्म तीन लाख ५० हजार हेक्टरभन्दा बढी भागमा फैलिएपछि यो क्यालिफोर्नियाको इतिहासमा रेकर्ड गरिएको सातौँ ठूलो आगलागी भएको राज्य एजेन्सी क्याल फायरले जनाएको छ ।

राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १४५ किलोमिटर उत्तरमा रहेको सिको सहर नजिकैको ठूलो ग्रामीण पहाडी क्षेत्रमा भएको आगलागीबाट ४ हजारभन्दा बढी मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन् । “फैलिदै गएको आगोले अग्नि नियन्त्रकलाई चुनौती दिइरहेको छ”, क्याल फायरले एक्सको एक पोस्टमा जानकारी गराएको छ ।

एजेन्सीका अनुसार एक दर्जनभन्दा बढी हेलिकप्टर र विमानका साथै तीन हजार ७०० भन्दा बढी कर्मचारीहरूको प्रयासका बावजुद पनि आगो १० प्रतिशत मात्र निभाउन सकिएको थियो । कम तापक्रम र उच्च आद्रताले आगलागीको गति कम भएतापनि अझै फैलिरहेको एजेन्सीले जनाएको छ । क्याल फायरको पछिल्लो अपडेटमा आगलागीका कारण २० वटा संरचनाहरू नष्ट भएको पुष्टि गरेको छ । जलिरहेको कारलाई सुक्खा झाडीमा धकेलेर आगो लगाएको शङ्कामा ४२ वर्षीया व्यक्तिलाई बिहीबार प्रहरीले हिरासतमा लिएको छ ।