अवैध लागूऔषध सहित पाँच जना पक्राउ

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

काठमाडौं, साउन १८,

मोरङको विराटनगर महानगरपालिका–१६ यादव टोल बस्ने ४३ वर्षीया भोलिमाया यादवलाई अवैध लागूऔषध गाँजा १ किलो ८० ग्राम र नगद २ लाख ४१ हजार ५ सय रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरीमाई नजिकै पिपल चौतरास्थित सडकबाट अवैध लागूऔषध चरेश १० किलो २ सय ५० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिाम रामग्राम नगरपालिका–८ बस्ने ४३ वर्षीय अनिल भर चौधरी र पर्सा सखुवा प्रसौनी गाउँपालिका–१ सथवल बस्ने २७ वर्षीय हरी गौरब रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ५८३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त चरेश सहित पक्राउ गरेको हो । 

झापाको शिवसताक्षी नगरपालिका–८ रत्न चोक बस्ने २४ वर्षीय फुर्वा तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

पर्साको ठोरी गाउँपालिका–२ सुन्दरबस्ती बस्ने ३० वर्षीया अनिता गुरोलाई अवैध लागूऔषध गाँजा करिब ५० किलोग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । हाल फरार अनिताको श्रीमान् नन्दु गुरोको प्रहरीले खोजी गररहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ

मोरङ, साउन १८

उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने २१ वर्षीय कुशल दाहालको हत्या गरेको अभियोगमा सोही नगरपालिका–५ बस्ने सुभास तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
 

सुभासले मंगलबार साँझ आफ्नै कोठामा लाठी, खुकुरी, चुप्पीले प्रहार गर्दा गम्भीर घाइते भएका कुशलको झापा विर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै वारदात पश्चात फरार रहेका सुभासलाई अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले सुन्दर हरैंचा नगरपालिका–४ बलियाबाट पक्राउ गरेको हो ।

उनी उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब ५१ किलोग्राम गाँजा बरामद

काठमाडौं, साउन १८

भोजपुरको आमचोक गाउँपालिका–६ गौरीगाउँस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम गएराति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बोयाङबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा २ वटा बोरामा वेवारिसे अवस्थामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । 

मोरङ, जहदा गाउँपालिका–७ महादेबकोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्राम बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको को.२ ह ३७६८ नम्बरको अटोबाट उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, साउन १८

काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरस्थित सडकमा बागमती प्रदेश ०२–०२५ प ०६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक मुगु घर भएका २८ वर्षीय मन्दीप मल्लको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  

झापाको हल्दिवारी गाउँपालिका–५ सोडागान्धी चोकस्थित सडकमा मे.१ ज ३२६१ नम्बरको पिकअप गाडीले मे.९ प ९६८५ नम्बरको मोटरसाइकललाई बिहीबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जना पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विएण्डसि अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–७ भुकम्प मापन केन्द्र नजिकै सडकमा भे.६ प ३९१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–७ ईत्राम बस्ने ३० वर्षीय दिपेश केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–७ गौँडामुनीस्थित सडकमा ग.१ त ७२४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर बिहीबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरका सहचालक रामेछाप मन्थली नगरपालिका–१३ घर भएका ३९ वर्षीय तेज बहादुर पाण्डेको घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मृत अवस्थामा फेला

काठमाडौं, साउन १८

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ सुरौदी खोलाको किनारमा सोही नगरपालिका–२ डेरा गरी बस्ने रूकुम उत्तरगंगा गाउँपालिका–५ घर भएका ५७ वर्षीय काले बुढामगर बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

बाँकेको बैजानाथ गाउँपालिका–२ हात्तीमुन्डा बस्ने दिल बहादुर बस्नेतको छोरा ८ वर्षीय दामोदर बस्नेत सोही गाउँपालिका–३ हात्तीमुन्डा पुलचोक नहरमा डुबेर मृत्यु भएको अवस्थामा बिहीबार फेला परेका छन् । 

यसैगरी बाँकेको खजुरा गाउँपालिका–८ बस्ने राजन गिरीकी छोरी ७ वर्षीया आरती गिरी सोही गाउँपालिका–८ पेलाडीमालास्थित नालाको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेकी छिन् । 

नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ पिप्रहर पुजैलीस्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नुखुलेकी अन्दाजी ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । सुनसरीको इनरूवा नगरपालिका–३ स्थित महेन्द्र चोकमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

भक्तपुर, साउन १८

मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार बस्ने शंकर कटुवालको घरमा रहेको आल्मुनियम र फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।