बङ्गलादेश : प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएको सेना प्रमुख जमानद्वारा जानकारी, अन्तरिम सरकार बनाउने घोषणा

बङ्गलादेश : प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएको सेना प्रमुख जमानद्वारा जानकारी,  अन्तरिम सरकार बनाउने घोषणा

ढाका, २१ साउन (रासस/एएफपी) :

बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुभएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराउनुभएको छ । प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिनुभएको हो । उहाँले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । “प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ ।

अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उहाँले भन्नुभयो । कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्नुहुनेछ वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने बिषयमा उहाँले केही बताउनुभएको छैन । बङ्गलादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको कार्यक्रममा बङ्गलादेशका सेना प्रमुख जमानले सोमबार हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताउनुभएको हो । “देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिस मारिएका छन् । अब, यो हिंसा रोक्ने समय हो।” वाकरले भन्नुभयो । “मलाई आशा छ, यो सम्बोधनपछि स्थितिमा सुधार आउनेछ ।

” बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको छ । आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् ।