संघीय अस्पतालमा सुधारको सुरुवात ः स्वास्थ्य मन्त्रालयद्वारा १७ अस्पतालको विवरण सार्वजनिक (हरेक अस्पतालको रिपोर्ट कार्डसहित)

संघीय अस्पतालमा सुधारको सुरुवात ः  स्वास्थ्य मन्त्रालयद्वारा १७ अस्पतालको विवरण सार्वजनिक (हरेक अस्पतालको रिपोर्ट कार्डसहित)

काठमाडौं, साउन २८


संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार थालेका छन् । पदभार सम्हालेलगत्तै गत साउन ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भिडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे निर्देशन जारी गरेका थिए । एक महिनाभित्र भीड व्यवस्थापन गर्ने लक्ष्यअनुरुप हालसम्म रिपोर्ट प्राप्त सबै अस्पतालले सुधार भएको जानकारी पठाएको मन्त्रीको सचिवालयले जनाएको छ ।


शुक्ररराजमा स्वास्थ्य बीमाबाट ९० प्रतिशत बढी औषधी
अहिले संघ मातहतका १७ अस्पताल सबैले मन्त्रालयको निर्देशनअनुसार दुवै सिफ्टमा सेवा थालेका छन् । संघीय राजधानी काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले हरेक दिन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म दुई सिफ्टमा सेवा आरम्भ गरेको छ । अस्पतालले स्वास्थ्य बीमाका सेवाग्राहीलाई ९० प्रतिशत बढी औषधी आफ्नै फार्मेसीबाट वितरण थालेको छ । अस्पतालको शौचालयलगायत क्षेत्रमा सुधार भएको विवरण अस्पतालले दिएको छ । 


परोपकारमा अपरेशन अवधि १ घण्टा बढाइयो
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा जनरल ओपिडी सेवा एक ९ देखि ४ बजेसम्म थालिएको छ । यसका अलावा अपरेशन सेवामा एक घण्टा वृद्धि गरिएको रिपोर्ट अस्पतालले दिएको छ । भिड व्यवस्थापनका लागि अनलाइन टिकट प्रभावकारी देखिएको अस्पतालले जनाएको छ । 

बीपी कोइराला स्वास्थ्य विज्ञानमा विस्तारित सेवा
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडी सेवा दुई सिफ्टमा सञ्चलनका अतिरिक्त अस्पतालको सेवा अवधि थप गरेको छ । अस्पतालमा रेडियोलोजीका लागि बेग्लै काउण्टर खोलिएको छ । प्रतिष्ठानमा सेवा लिनका लागि क्युआरमार्फत भुक्तानी भैरहेको छ । 

राष्ट्रिय ट्रमा सेन्टरमा २४ सै घण्टा आकस्मिक शल्यक्रिया
राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंले २४ सै घण्टा आकस्मिक शल्यक्रिया आरम्भ गरेको छ । अस्पतालले नियमित शल्यक्रियाका लागि भर्ना भएका बिरामीको एक हप्ता र ओपीडीका लागि एक महिनाभित्र शल्यक्रियाको पालो आउने व्यवस्था मिलाएको छ । स्वास्थ्य बीमाका औषधी पर्याप्त व्यवस्था गरेको अस्पतालले दुईवटा टिकट काउण्टर र अनलाईन पेमेन्ट सुविधा पनि दिएको छ ।


मनमोहनमा १ महिनाभित्रै शल्यक्रिया, अनलाइनबाट ल्याब रिपोर्ट
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले ओपीडीको टिकट बिहान ११ः३० सम्म व्यवस्था गरेको छ । अस्पतालले दर्ता भएको एक महिनाभित्र नै शल्यक्रिया गर्ने व्यवस्था मिलएको छ । साथै, अनलाइनबाटै ल्याब रिपोर्ट लिने व्यवस्था पनि अस्पतालले गरेको छ ।

कान्तिमा शैय्या थप प्रक्रिया शुरु
कान्ति बाल अस्पताल महाराजगञ्जमा आकस्मिक बाल उपचारका लागि ६ शैय्या तथा अब्जरभेसनका लागि २० शैय्या थप गर्ने प्रक्रिया आरम्भ भएको छ । अस्पतालमा भीड व्यवस्थापनका लागि टोकन प्रणालीलाई थप व्यवस्थित बनाइएको जानकारी अस्पतालले दिएको छ ।


पाटनमा बिदामा पनि शल्यक्रिया र ओपीडी
पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानले भीड व्यवस्थापनका लागि साधारण र शुल्क क्लिनिक प्रणाली व्यवस्थापन गरेको छ । डिजिटल बिल प्रणाली भदौ १ बाट थाल्ने अस्पतालले बिदाको दिनमा समेत ओपीडी र शल्यक्रिया थालेको छ । 


अन्य अस्पतालहरुको सेवामा उल्लेख्य सुधार
वीरगञ्जको नारायणी अस्पतालले शैय्या अभाव हटेको छ । अस्पपतालमा स्वास्थ्य बीमाका औषधी पर्याप्त मौज्दान रहेको र भिड व्यवस्थापनका लागि टोकन प्रणाली र अनलाईन टिकट व्यवस्था गरिएको छ । बीपी कोइराला मेमोरिल क्यान्सर अस्पताल चितवन, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँ,वीर अस्पताल लगायतले पनि भीड व्यवस्थापन, सरसफाइ लगायतमा भएको सुधारबारे विवरण पठाएका छन् ।