भारतीय सन्त पाइलट बाबाको निधन

भारतीय सन्त पाइलट बाबाको निधन


  काठमाडौं, भदौ ५

भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा मङ्गलबार निधन भएको छ ।

मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली
सन्तसँग उहाँले सन् १९७४ मा दीक्षा लिनुभएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले राससलाई जानकारी दिनुभयो ।
 
नेपाली गुरुसँग शिक्षा लिनुअघि उहाँ भारतीय वायुयान सेवामा पाइलट रहनुभएकाले उहाँलाई पाइलट बाबा भनिएको हो । यही नामले उहाँ प्रसिद्ध हुनुभयो ।
 
पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाउनुभएको छ । आश्रममा उहाँ बेला बेलामा आएर बस्ने गर्नुभएको थियो ।
 
नेपालमा उहाँका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् । भारतको प्रयोगमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उहाँले आश्रय दिने गर्नुभएको पनि उहाँले बताउनुभयो ।
 
पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मनुभएको थियो । हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उहाँले जुना अखडा नामका आश्रम चलाउने गर्नुभएको थियो । उहाँलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो ।
 
जुना अखडाका सबै आश्रममा आजैदेखि तीन दिनसम्म शोक मनाउने जनाइएको छ । उहाँलाई उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
---