कान्तिलोकपथ र सिस्नेरी सडक सञ्चालनमा

कान्तिलोकपथ र सिस्नेरी सडक सञ्चालनमा


मकवानपुर, भदौ ११

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको दुई वटा मार्ग सञ्चालनमा आएका छन् । सोमबार अपराह्न परेको पानीका कारण अवरुद्ध भएको कान्तिलोकपथ र भीमफेदी–सिस्नेरी–फर्पिङ सडकखण्ड सञ्चालनमा आएको हो ।

सडक माथिबाट लेदो पहिरो झरेका कारण सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुर भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित कान्तिलोकपथ वर्षाका कारण लेदो पहिरो खसी सोमबार अपराह्न ४ बजेपछि बाटो अवरुद्ध भएको थियो ।

बाटो अवरोध भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय ठिङ्गनबाट खटिएको प्रहरी टोलीले सडक विभाग र ‘फास्ट ट्र्याक’सँग समन्वय गरी पहिरो पन्छाउने काम गरिएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

यस्तै, कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नं ३ रामचन्द्र भञ्ज्याङमा सडकमाथिबाट लेदो पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
–––