वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने चारजना पक्राउ

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने चारजना पक्राउ

काठमाडौं, भदौ १२

आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, अल्वानियाँ, पोर्चुगल, युके र माल्टा लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका–४ घर भएका ३० वर्षीय देव सुनार, २७ वर्षीय भिम सुनार, पाल्पा रामपुर नगरपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ३५ वर्षीय सुमन थापा र कालीकोट तिलागुफा नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–७ पशुपती बस्ने ४० वर्षीय कन्नजित राउत रहेका छन् । 

पक्राउ पर्ने मध्ये देव र भीमले ९ जना पीडितबाट ९५ लाख ३४ हजार रूपैयाँ, सुमनले १ जना पीडितबाट १२ लाख रूपैयाँ र कन्जितले १ जना पीडितबाट ३ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले देव र भिमलाई कञ्चनपुर नगरपालिका–१० गड्डाचौकीबाट, सुमनलाई काठमाडौं टोखा नगरपालिका–३ बाट र कन्नजितलाई काठमाडौं महरानगरपालिका–७ पशुपतिबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।