बाँकेको नरैनापुरमा पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

बाँकेको नरैनापुरमा पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

  बाँके, भदौ १८

शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिनुभयो ।   

“मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो”, फोकल पर्सन श्रेष्ठले भन्नुभयो ।

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले भन्नुभयो, “हामीले मृतकको उपचार गर्न समय पाएनौँ । मृतकका आफन्तका अनुसार मृतक चारैजनालाई झाडापखाला भएको समयमा जीवनजललगायत अन्य झोलिलो पिउने पदार्थको अभाव भएको थियो ।” स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमी भएकाले निजहरुको मृत्यु भएको पुष्टि गरेको उहाँले बताउनुभयो ।

यही भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको स्वास्थ्य शाखाका प्रमुख शाहले जानकारी दिनुभयो । नरैनापुर–३ स्थित गेग्लीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङ्क्रमण देखिएको थियो । उहाँका अनुसार ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा भएकाले शरीरमा पानी अपुग हुन गई पासीको एकैघरका तीन जनाको मृत्यु भएको हो ।

स्वास्थ्य शाखा प्रमुख शाहले मृतकलाई आफन्तले बिरामी हुँदा भारतीय क्लिनिकमा उपचार गराएको र सोही क्रममा मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

शाहले गेग्लीमा एकैदिनमा झाडापखालाबाट कसैको पनि मृत्यु नभएको जानकारी दिँदै भन्नुभयो, “एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।” उहाँले एकैदिन तीन जनाको मृत्यु नभएको जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख शाहले मृतकका आफन्तले समयमा उपचार नगराएका भन्दै परिवारको लापरबाहीका कारण चार जनाको ज्यान गएको बताउनुभयो । “समयमै जाँच गरेको भए रोग पहिचान भइएर उपचार हुन्थ्यो”, उहाँले भन्नुभयो, “परिवारको लापरबाहीले गर्दा अकालमा ज्यान गएको छ । चेतनाको कमीले गर्दा यस्तो घटना भएको हो ।”

नरैनापुर–३ कालाफाँटा स्वास्थ्य संस्थाका प्रमुख मो तैयब राइनले गेग्लीमा झाडापखाला फैलिएको जानकारी पाउनेबित्तिकै आवश्यक औषधिसहितको टोली परिचालित गरिएको बताउनुभयो । गाउँमा अहिले दुई बालबालिकामा पखाला पुष्टि भएको बताउँदै एकको स्थानीयस्तरमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख राइनले भन्नुभयो, “महामारीका रुपमा फैलिएको हो कि भनेर पालिकाले स्वास्थ्य शिविर आयोजना गरी परीक्षण गरेको छ । शिविरमा आएकामध्ये अधिकांशमा अधिकांश ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्नेलगायत समस्या देखिए पनि यो समस्या मौसम परिवर्तनका कारण भएको हो ।” सोमबारको शिविरमा दुईजनामा झाडापखाला पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

नरैनापुरमा भेटिएका झाडापखालामा हैजाजन्य किटाणु नभएको भेरीमा उपचाररत बिरामीको जाँचबाट खुलेको स्वास्थ्य शाखा प्रमुख अङ्गत शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी पानी शुद्धीकरणका लागि आवश्यक औषधि वितरण गरेको छ । भेरी अस्पतालमा दैनिक झाडापखालाका पाँच/छ जना बिरामी आउने गरेका अस्पतालका मेसु डा प्रकाशबहादुर थापाले जानकारी दिनुभयो । रासस