तीन करोड ५० लाख रुपैंयाँ लगानीमा भैंसेपाटी स्टोर्टस एकेडेमी सञ्चालनमा

तीन करोड ५० लाख रुपैंयाँ लगानीमा भैंसेपाटी स्टोर्टस एकेडेमी सञ्चालनमा

ललितपुर, असोज ३

ललितपुर महानगरपालिका–२१ खोकना सिकालीमर्गमा भैंसेपाटी स्पोर्ट्स एकेडेमीको शुरुवात गरिएको छ । एकेडेमीको प्राङ्गणमा एकेडेमीको उद्घाटन गरिएको हो । एकेडेमीमा ब्याडमिन्टन, सौना, स्टिम लगायत सुविधा उपलब्ध छ ।

एकेडेमीको महानगरका वडा नम्बर १८ का वडाध्यक्ष दामोदर खड्का, २१ का वडाध्यक्ष रवीन्द्र महर्जन र ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी  कुमार मोहनबहादुर शाहीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको एकेडेमीमा २ वटा ब्याडमिन्टन कोर्ट रहेका छन् । कोर्टभित्र फिटनेशका विभिन्न सामाग्री राखिएको छ । 

कोर्टमा आवश्यकता अनुसार टेबल टेनिसको बोर्ड हालेर प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गरिने एकेडेमीका अध्यक्ष मिलन थापाले जानकारी दिनुभयो । सैंबु, भैसेपाटी, बुङ्गमती र खोकना क्षेत्रका बासिन्दा र विद्यालयलाई लक्षित गरी एकेडेमीको शुरुवात गरेको उहाँले बताउनुभयो । भन्नुभयो–यहाँ हामीमात्र खेल्दैनौ, युवापुस्ता र स्कुले वालबालिकालाई समेत प्रशिक्षण गर्न मिल्ने गरी स्पोर्ट्स एकेडमी सञ्चालन गरेको बताउनुभयो । हालको संरचनाबाटै निकट भविष्यमा स्विमिङ पुल बनाउने तयारीमा छौ–अध्यक्ष थापाको भनाई थियो । 

पैसा कमाउने उद्देश्यले नभई सबै व्यक्तिलाई स्वस्थ बनाउने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमी खोलिएको जानकारी दिनुभयो । करिब ६ महिनामा अवधिमा तयार भएको एकेडेमी सो क्षेत्रको सबभन्दा ठुलो हो । २ करोड ५० लाखको लगानीमा एकेडेमीको हल, कोर्ट, पार्किङ निर्माण भएको छ । अब करिब साढे २ करोड लगानीमा स्वीमिङपुल निर्माण गर्ने तयारीमा रहेको अध्यक्ष थापाको भनाई छ । 

कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी कुमार मोहनबहादुर शाहीले पेट घटाउने खेलका रूपमा मात्र ब्याडमिन्टन नभई नयाँ खेलाडी उत्पादनमा पनि एकेडेमीले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले बुढाले खेल्नेमात्र हुन थालेको यस खेलमा युवालाई समेत आकर्षण गर्न योजना ल्याउनुपर्ने बताउनुभयो । भन्नुभयो–म भैसेपाटीको स्थानीयवासी हुँ । यहाँका अधिकांश ब्याडमिन्टन खेलाडी ४० नाघेका छन्, कतै युवा र वालपुस्ता देखिन–उहाँको गुनासो थियो ।

हामीले अब युवा लक्षित खेलकुद सञ्चालन गरेमात्र जनता वडाको परिकल्पना गर्नसक्ने उहाँको भनाई थियो । एकेडेमीलाई साच्चिकै एकेडेमीको रुपमा विकास गर्नुपर्ने उहाको भनाई थियो ।  उहाँले यस कोर्ट अन्तराष्ट्रिय स्तरको सबै मापदण्ड पुरा भएकोमा प्रशंसा गर्नुभयो ।  नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीप्रसाद श्रेष्ठले ब्याडमिन्टनका प्रतियोगिता गर्दा र खेलाडी छनोट गर्दा एकेडेमीको सहकार्यलाई पनि प्राथमिकता दिने वचन दिनुभयो । उहाँले यस एकेडेमीबाट उपलब्ध खेलाडीलाई रेफ्रीको रुपामा तालिम दिन संघ तयार रहेको जानकारी दिनुभयो । उहाँले एकेडेमीमा विद्यालयका वालवालिका र युवा लक्षित तालिम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

संघका पूर्व अध्यक्ष प्रकाशबहादुर शाहीले नेपालको ब्याडमिण्टन विकासका लागि यो एकेडेमी कोसेढुङ्गा सावित हुने बताउनुभयो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका–१८का अध्यक्ष दामोदर खड्काले सो क्षेत्रमा स्पोर्टस एकेडेमी सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभयो । 

स्थानीय मिलन थापा लगायत टिमले शुरु गरेको यो एकेडेमी सबैको साझा भएको बताउँदै भन्नुभयो–यस एकेडेमीमा वडाले विद्यालय लक्षित प्रशिक्षण संचालन गर्नेछौ । ४५ नाघेकाले मात्रै खेल्नेजस्तो भएको यस खेललाई वालमैत्री र युवामैत्री बनाउनेछौ । ललितपुर महानगरपालिका–२१ का अध्यक्ष रविन्द्र महर्जनले आफ्नो वडामा एकेडेमी सञ्चालन भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाले एमेडेमीलाई आफू र वडावासीको तर्फबाट सहयोग गर्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा शेयर सदस्य गणेश ज्ञवालीले ३ करोड ५० लाख रुपिया लागतमा निर्माण भएको एकेडेमीमा स्टिम,सौना, ब्याडमिन्टन, क्रसबार, जिमका विभिन्न खेल सामाग्री राखिएको बताउनुभयो । उहाँले सबै संरचना अन्तराष्ट्रिय स्तरको भएको जानकारी दिँदै भविष्यमा विभिन्न प्रकारको तालिम सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा शेयर सदस्य एवं क्योकुसिन कराटे महासंघका अध्यक्ष शालिकराम कुँवरले एकेडेमीलाई उच्च स्तरको खेलकुदको विकास गर्न तयार भएको बताउनुभयो ।  एकेडेमीमा १३ जना शेयर सदस्य रहेका छन् ।