सर्प संरक्षण अभियान: दाङमा सर्प महोत्सव हुँदै

सर्प संरक्षण अभियान: दाङमा सर्प महोत्सव हुँदै

तुलसीपुर (दाङ), २ कात्तिकः दाङमा सर्प महोत्सव आयोजना गरिने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

    महोतसव संयोजक प्रभात भण्डारीका अनुसार महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना गरिने छ । 

    महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प  प्रदर्शनी र तीबारे जानकारी दिइने संस्थाका अध्यक्ष सन्दीप वलीले  बताए ।  सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायतका विषयमा पनि सचेतना प्रदान गरिने अध्यक्ष उनले बताए । 

महोत्सवमा सर्प विज्ञको पनि सहभागिता रहनेछ । मानिसले सर्पलाई मार्ने क्रम बढेकाले सर्प लोप हुने अवस्थामा रहेको उल्लेख गर्दै उनले सर्प लोप हुँदा पर्यावरणमा असर पुग्ने बताए । सर्प संरक्षण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । 

    त्यस अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका–२० हजारभन्दा बढीलाई सचेतना प्रदान गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवमा सर्पसँगै अन्य वन्यजन्तुबारे पनि जानकारी दिइनेछ । दाङमा करिब १५ प्रजातिका सर्प रहेको अनुमान गरिएको छ । तीमध्ये  सात प्रजातिका सर्प विशालु भेटिएका छन् ।