क्रिप्टो कारोबारीलाई छाडेर ५० लाख लेनदेनको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

क्रिप्टो कारोबारीलाई छाडेर ५० लाख लेनदेनको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

 काठमाडौं, ६ कात्तिक । नेपालमा गैरकानूनी रहेको क्रिप्टो कारोबारमा सँलग्नसँग ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा दायर गरिएको हो ।

उनीहरुविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । मुद्दा दायर गरिएकामध्ये आरोपित तामाङ भने फरार छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाई सुरु भएको छ । थुनछेक बहस सकिएपछि साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ ।

तीन जना मिलेर क्रिप्टोको कारोबार गरेको आरोपमा एक युवकलाई पक्राउ गरी दुई दिनसम्म राखेर छाडेको खुलेको थियो । उनीहरुले ती युवकबाट ४९ लाख १० हजार रुपैयाँ असुलेका थिए ।