अमेरिकामा राष्ट्रपति निर्वाचन आज : ह्यारिस र ट्रम्पमा कसले मार्ला बाजी ?
काठमाडौं, २० कात्तिक। अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो ।
पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुँदै आएको छ । आज मतदान सकिएपछि यो प्रतिस्पर्धा निष्कर्षमा पुग्नेछ ।
आज मतदान हुने भएपछि दुवै उम्मेदवारले सोमबार अन्तिम चुनावी अभियान चलाएका थिए । उनीहरू दुवैले अमेरिकाको सबैभन्दा महत्वपूर्ण मानिने पेन्सिलभेनिया राज्यमा प्रचार गरेका थिए ।
ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका लागि भन्दै मत मागिरहेका छन् भने ह्यारिसले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने आफ्नो प्रयास गरिरहेकी छन् ।
यस निर्वाचनबारे गरिएका सर्वेक्षणहरूले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन् । केही सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अघि देखिएकी छन् ।
अमेरिकामा सात करोड ८० लाखभन्दा बढी मतदाताले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० मा खसेको कूल मतको लगभग आधा हो । र, दुवै जनाले यसबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया जनाएका छन् ।