२३ कात्तिकदेखि झन्डै ५ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द
काठमाडौं, २० कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ।
विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउने कार्य गर्नुपर्ने भएकाले दैनिक १० घण्टा बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिव ५ महिनाको समय लाग्ने हुँदाखेरी कार्तिकमा नै काम गर्नुपरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको बताए ।
रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको महानिर्देशक इन्जिनियर अधिकारीले जानकारी दिए ।
महानिर्देशक अधिकारीले सो कामको योजना करिव ८ महिना अघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न समेत आग्रह गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि शुरु गर्न लागिएको उक्त काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनै पनि खालको रणनीति वा राजनीतिक नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण दिए ।
उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको पनि उनले बताए । हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ।
अधिकारीले चालु आर्थिक वर्षको अनुमानित आयमा करिव २ अर्ब नोक्शान पर्ने भएपनि विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सो काम शुरु गर्नुपरेको उल्लेख गरे ।
समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक अधिकारीले स्पष्ट पारे। ट्याक्सी वे निर्माण पछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीको दाबी छ ।
प्राधिकरणले सो स्तरोन्नतिको कामले वाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताइएको छ ।