रौतहटमा छठको तयारी अन्तीम चरणमा, महापर्वको आज पहिलो दिन

रौतहटमा छठको तयारी अन्तीम चरणमा, महापर्वको आज पहिलो दिन

 रौतहट, २० कात्तिक । मधेशवासी हिन्दूहरुको ठूलो र पवित्र पर्व छठ पूजाको तयारी रौतहटमा अन्तिम चरणमा पुगेको छ । कडा धार्मिक नियम, आस्था र विश्वासका साथ मनाइने चार दिवसीय यो पर्व आज(मंगलबार) सुरु भएको छ ।

हिन्दू धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुई पटक कात्तिक र चैत्रमा निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिन सुरु हुने सूर्य उपासनाको यस चाड लाई तराई तथा मिथिलाञ्चल क्षेत्रमा महापर्व पनि भनिन्छ ।

छठ पूजाको पहिलो दिन व्रतालुहरु नुहाइधुवाइ शुद्ध भई पूजाका साम्रगी तयार गरिरहेका छन । आजको दिनलाई स्थानीय भाषामा नहाय खाय (नुहाएर चोखो खाने) भन्ने गरिन्छ । छठ व्रत बस्ने महिलाहरुले चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाने गर्छन् ।

महापर्व छठ अन्तर्गत  बिहीबार बेलुका अस्ताउँदै  गरेको सूर्यलाई अर्घ्य दिइने छ भने  शुक्रबार बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिएपछि चार दिनको यो  लोकआस्थाको पर्व  विधिवत रुपमा  सकिनेछ ।

छठका कारण रौतहटका प्रमुख तथा ग्रामीण बजारहरुमा पनि चहलपहल बढेको छ । चन्द्रनिगाहापुर, गरुडा, कटहरिया, शिवनगर तथा सदरमुकाम गौरका कपडा, खाद्यान्न तथा फलफूलका पसलहरुमा ग्राहकको भीड देखिन्छ ।

यसैगरी, घर–परिवारका सदस्यहरु समेत घर फर्किने क्रम सुरु भएको छ ।