कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जना सिफारिस

कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जना सिफारिस

काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसको कीर्तिपुर नगर समितिले स्थानीय तहको उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ ।

१६ मंसिरमा हुने सो उप निर्वाचनका लागि नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा नाम सिफारिस गरेको छ ।।

यस्तै, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस गरिएको छ ।

तेस्रो कार्यकालका लागि कांग्रेस नगर समिति सभापति रहेका उनी ललितकला क्याम्पसका पूर्वस्ववियू अध्यक्ष समेत हुन् । दोस्रो नम्बरमा सिफारिस भएका बद्रीलाल नगरका पूर्वसभापति र पुराना नेता रुपमा चिनिन्छन् ।

मेयरको टिकटका आकांक्षी हिमाल कार्कीको नाम तेस्रो स्थानमा राखेर सिफारिस भएको छ । काठमाडौं पार्टी जिल्ला सदस्य रहेका कार्की काठमाडौं–१० का प्रतिनिधि सभाका सांसद राजन केसी निकट छन् ।

निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी जमुनाको चौथो नम्बरमा सिफारिस गरिएको छ । पेशाले अधिवक्ता जमुना राजनीतिमा कम सक्रिय छिन् ।

नेपाली कांग्रेसको विधान बमोजिम प्रत्येक तहले एक जना महिलाको नाम अनिवार्य राखेर बढीमा तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ ।