जर्जियामा पनि ट्रम्पको जित, अन्य ५ स्वीङ स्टेटमा पनि ट्रम्पकै अग्रता

जर्जियामा पनि ट्रम्पको जित, अन्य ५ स्वीङ स्टेटमा पनि ट्रम्पकै अग्रता

काठमाडौं, २१ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जितेका छन् । ट्रम्पले जर्जिया पनि जितेका छन् । यसअघि उनले नर्थ क्यारोलिनामा पनि जितेका बीबीसीले उल्लेख गरेको छ ।

१६ इलेक्टोरल भोट रहेको जर्जिया राज्यमा सन् २०२० को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले जितले हासिल गरेका थिए । १६ इलेक्टोरल भोट नै रहेको नर्थ क्यारोलिनामा भने सन् २०२० मा ट्रम्पले नै जितेका थिए ।

एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलताले ट्रम्प समर्थकमा खुसियाली ल्याएको छ ।
यससँगै ट्रम्पले २४६ इलेक्ट्रोरल भोट पाएका छन् । यो राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने भोटमध्ये जम्मा २४ कम रहेको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले १८७ इलेक्ट्रोरल भोट पाएकी छन् ।

जनसंख्याको आधारमा अमेरिकाका ५० राज्यहरुमा इलेक्टोरल कलेज भोट दिने गरिन्छ । कूल ५३८ इलेक्टोरल कलेज भोटका लागि अमेरिकामा निर्वाचन हुने गर्दछ । कूल २७० इलेक्टोरल कलेज भोट पाउने उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

अमेरिकाका राज्यका मतदाताहरुले प्रायःजसो हरेक निर्वाचनमा एकै पार्टीका उम्मेदवारलाई जित दिलाउँदै आएका छन् । यद्यपी, सातवटा यस्ता राज्य छन् त्यहाँका मतदाताले कसलाई जिताउँछन् भन्ने अनिश्चित हुने गर्दछ । त्यसैले ती राज्यलाई स्वीङ स्टेट समेत भन्ने गरिएको हो । 

अमेरिकाका स्वीङ स्टेट भनेर एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिनलाई लिइन्छ ।