प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, बालुवाटारमै आराम गर्दै
काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण देखिएको छ । प्रधानमन्त्रीलाई भाइरल ज्वरो भएको उनको निजी चिकित्सक डा. दिव्या सिंह शाहले पुष्टि गरिन् ।
‘घाँटीमा संक्रमण पनि भएको छ । पछिल्लो समय मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सुधार हुँदै छ । केही दिन आराम गर्न सुझाव दिएका छौं ।’, डा.सिंहले भनिन् ।
मंगलबार डेंगुको आशंकामा रगत परीक्षण गरिएको थियो । तर, उक्त रिर्पोट नेगेटिभ आएको र अन्य कुनै पनि स्वास्थ्य समस्या नभएको डा. शाहले बताइन् ।
प्रधानमन्त्रीले ओलीले दोस्रो मिर्गौला प्रत्यारोपण गरेको चार वर्ष भएको छ । तर, कतिपयले मिर्गौलाले काम गर्न छोडेको आंशका गरेका छन् ।
‘उहाँको मिर्गौलाले एकदमै राम्रो काम गरेको छ । त्यसपछि उहाँको स्वास्थ्य एकदमै राम्रो छ । ब्लड, प्रेसरको औषधि समेत खानुपरेको छैन,’ उनले भनिन् ।
अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै स्वास्थ्यलाभ गरिरहेका छन् ।