बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा रमाना
काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगका लागि रमानापत्र पठाएको छ ।
१४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका उनी अब उक्त रमानापत्रअनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर हुनुपर्नेछ ।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न रहेको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गराएको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए । यसपछि अब प्रधानमन्त्री कार्यालयमा उनी फर्किन पाउँछन् कि पाउँदैनन् भन्ने अन्योल छ ।
मुद्दा जितेसँगै निलम्बन फुकुवा भएकाले उनी पुनः सरकारी जिम्मेवारीमा फर्किएका छन् । १० असारमा अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्टमन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो ।
१० असारको मन्त्रिपरिषदको निर्णय अनुसार नै अर्याललाई योजना आयोगमा सिर्जित विशेष दरबन्दीका लागि रमाना दिइएको प्रधामनन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता प्रेमप्रसाद आचार्यले जानकारी दिए ।