कांग्रेस–एमाले सत्ता सहकार्य, तीन तहमै समन्वय संयन्त्र
काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यलाई सहज बनाउने गरी संघ, प्रदेश र जिल्ला तहमा संयन्त्र गठन गरेका छन् ।
संघको संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक र आरजु राणा छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य रहेका छन् ।
सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन र सत्ता साझेदारबीच आवश्यक समन्वय गर्नेगरी संयन्त्र बनाइएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ‘केही समय अघि बनेको संयन्त्रलाई औपचारिकता दिएर अगाडि बढेका छौं ।’ उनले भने ।
प्रदेश र जिल्ला तहमा पनि समन्वय संयन्त्र बनाउने पनि निर्णय भएको गौतमले बताए । सो निर्णयअनुसार एमालेबाट संयन्त्रमा रहने नेताहरु समेत टुंगिएको छ ।
प्रदेश तहको संयन्त्रमा पार्टी इन्चार्ज, अध्यक्ष र संसदीय दलको नेता सदस्य हुनेछन् । जिल्ला संयन्त्रमा इन्चार्ज, अध्यक्ष र सचिवलाई पठाउने मोडालिटी तयार भएको उनले बताए ।
कांग्रेसले भने प्रदेश र जिल्ला तहको संयन्त्रका सदस्यहरुबारे निर्णय अझैं गरिसकेको छैन् ।