दिपक मनाङे दोषी ठहर भएपछि पदरिक्त, मनाङ - २ मा पनि उपनिर्वाचन
काठमाडौं, २१ कात्तिक । खुँडा प्रहार गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) दोषी ठहर भएपछि मनाङ–२ मा उपनिर्वाचन हुने भएको छ ।
गण्डकी प्रदेशसभाका सांसद मनाङे (राजिब गुरुङ) सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि पदमुक्त हुने अवस्थामा पुगेका हुन् ।
सर्वोच्चले मनाङेलाई ५ वर्ष कैद सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको १२ वर्ष पुरानो फैसलालाई मंगलबार सदर गरेको हो ।
गलत विवरण बुझाएर निर्वाचित भएकाले उनको पद खारेज हुनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।
उनीविरुद्धको मुद्दाको फैसला अन्तिम भएको, दोषी ठहर भएका उनी यो प्रदेशसभाको अवधिभर पदमा फर्किने सम्भावना नभएकाले सांसद पद खाली भएको मनाङ–२ मा उप निर्वाचन हुने अवस्था सिर्जना हुन सक्छ ।
फैसला अन्तिम भएको र त्यसका कारण सम्बन्धित सांसद पदमा फर्किने अवस्था नरहेको खण्डमा उपनिर्वाचन गराउनुपर्ने यसअघि निर्वाचन आयोगमा काम गरिसकेका पूर्व उपन्यायाधिवक्ता गुरु वाग्लेको भनाइ छ ।
तर, उनी प्रदेश सांसद हुन अयोग्य रहेको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए, जुन अहिले पनि सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।