राष्ट्रिय स्वाधीनताको प्रश्न अझ पेचिलो र संवेदनशील बनेको छ : प्रचण्ड

राष्ट्रिय स्वाधीनताको प्रश्न अझ पेचिलो र संवेदनशील बनेको छ : प्रचण्ड

काठमाडौं, २५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असामान्य ढंगको भएकाले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढिरहेको बताएका छन् । 

नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न पहिलेभन्दा अहिले अझ बढी पेचिलो र अझ बढी संवेदनशील बन्दै भइरहेको प्रचण्डको दाबी छ । 

मकवानपुरको हेटौंडामा प्रेस सेन्टर नेपालले आज( आइतबार) बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘हाम्रो राष्ट्रिय अवस्था या हाम्रो भौगोलिक अवस्था, जसलाई हामी भूराजनीतिको अवस्था भन्छौं । त्यो कारणले ती शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै नै गइरहेको छ ।’ उनले भने । 

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा  पुनरागमन, इजरायल–हमास युद्ध, रुस–युक्रेन युद्ध लगायतका कारण विश्व नै प्रभावित बनिरहेका बेला नेपाल पनि अछुतो रहन नसक्ने उनको भनाइ छ । 

‘हामी भारत र चीन जस्ता ठूला छिमेकीको बीचमा हुनुको नाताले अन्तर्राष्ट्रिय रुपमा घटेका घटनाक्रमहरुको असर नेपाललाई परिराख्या छ । त्यसकारण नेपालको राष्ट्रिय स्वाधिनतालाई रक्षा गर्ने, सुदृढ गर्ने कुरा, राष्ट्रिय एकतालाई बलियो बनाउने कुरा अहिले अझ बढी चुनौतीपूर्ण बन्दै गएको छ ।’ प्रचण्डले भने  ।

‘मैले यो कुरा ब्याख्या नगरी भन्दा अहिले सरकार जुन धरातलमा, जुन उद्देश्यको साथ बनेको छ, त्यसको पछाडि जस्ता शक्तिहरू सक्रिय देखिएका छन् त्यो सबैले नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न पनि पहिलेभन्दा अहिले अझ बढी पेचिलो, अझ बढी संवेदनशील बन्दै गएको छ,’ उनले भने । 

विश्वको परिस्थितिलाई हेरेर एकथरी बुद्धिजीवीहरुले तेस्रो विश्वयुद्धको सम्भावना औंल्याएको उल्लेख गर्दै प्रचण्डले भने, ‘अन्तर्राष्ट्रिय स्थिति सहज ढंगले अगाडि बढेको छैन । कतिबेला, कहाँ, कसरी, विष्फोट हुने हो कि भन्याजस्तो छ र एकखालले त भइसक्या पनि छ ।’ उनले भने ।