म्याद थपका लागि रवि लामिछानेलाई आज चौथो पटक अदालतमा पेश गरिँदै

म्याद थपका लागि रवि लामिछानेलाई आज चौथो पटक अदालतमा पेश गरिँदै

काठमाडौं, २५ कात्तिक । सहकारी अनियमितता प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा पेस  गरिँदै छ । 

जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनःअदालतमा उपस्थित गराइन लागेको हो ।

पछिल्लो पटक अदालतले रविमाथि  अनुसन्धान गर्न २० कात्तिकमा १० दिनको म्याद थपको  अनुमति  दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएको हो ।

कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी हिनामिना प्रकरणमा लामिछाने काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले उनलाई कात्तिक ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो ।

उनी पक्राउ भएपछि रास्वपाले लगातार विरोध प्रदर्शन जनाउँदै आएको छ ।