नेपालले थाइल्यान्डलाई दियो १४० रनको लक्ष्य

नेपालले थाइल्यान्डलाई दियो १४० रनको लक्ष्य

काठमाडौं, २५ कात्तिक। आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आफ्नो चौथो खेलमा थाइल्याण्डविरुद्ध खेलिरहेको छ। जारी खेलमा नेपालले थाइल्याण्डसमक्ष १ सय ४० रनको जितका लागि लक्ष्य पेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तय गरेको हो ।

नेपालका लागि ओपनर सना प्रवीणले ४६ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेलिन्।
त्यस्तै, अर्का ‍ओपनर साबित्री धामीले २८ रन बनाइन् ।

सोनी पाख्रिनले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  १३ औं ओभरमा खेल्दासम्म ८८–० को अवस्थामा रहेको नेपालले त्यसपछि निरन्तर विकेट गुमाउँदै ५१ रन जोड्दा ९ विकेट गुमायो ।

थाइल्याण्डका लागि नथारिका ठोकोइले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिइन् । त्यस्तै, केसिनी कैजुम्फोलले २ तथा कोरानित सुवाञ्चोनराथीले १ विकेट झारिन् ।