कैलालीमा बाख्रा चोरेको निहुँमा युवकको हत्या, ५ जना पक्राउ

कैलालीमा बाख्रा चोरेको निहुँमा युवकको हत्या, ५ जना पक्राउ

धनगढी, २६ कात्तिक । कैलालीमा बाख्रा चोरी गरेको निहुँमा एक जनाको हत्या भएको छ । गौरीगंगा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको बाख्रा चोरीको निहुँमा कुटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्रसिंह बोहराले  बताए ।

कुटपिटबाट गम्भीर घाइते भएका भुलको सोमबार (बिहान) धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा ज्यान गएको डीएसपी बोहराले जानकारी दिए ।

भुलमाथि कुटपिट गर्ने गौरीगंगा–११ को कान्तिपुर बस्ने युवतीसहितका पाँच जनालाई पक्राउ गरिएको उनले बताए । डीएसपी बोहराका अनुसार, पक्राउ पर्नेमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विक रहेका छन् । 

भुलको ज्यान गएपछि उनीहरुलाई सोमबार (बिहान) इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीले जनाएको छ ।