एमालेले दानमा पाउने जग्गा भाटभटेनीको नाममा, सर्वोच्चमा सोही मुद्दाको पेशी आज

एमालेले दानमा पाउने जग्गा भाटभटेनीको नाममा, सर्वोच्चमा सोही मुद्दाको पेशी आज

काठमाडौं, २६ कात्तिक । एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास गरिएको छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको झण्डै एक महिनापछि उक्त जग्गा बल्ल आफ्नो नाममा पास गराएका हुन् ।

जग्गादान घोषणा गर्दा उक्त जग्गा कालु गुरुङ लगायत सञ्चालक रहेको रोड सो रियल स्टेटका नाममा थियो । केही दिनअघि सो जग्गा नामसारी भएको हो ।

‘बिक्री प्रक्रियामार्फत रोड सो रियल स्टेटका नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोर प्रा.लि.का नाममा आएको छ । तिहार बिदापछि उक्त जग्गा पास गर्ने काम भइसकेको छ ।’ मालपोत कार्यालय, कलंकी स्रोतले भन्यो । 

गुरुङले दशैंको फूलपातीका दिन एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गादान घोषणा गरेका थिए ।  उनले एक वर्षभित्र आफैले तीनवटा भवन बनाएर एमालेलाई जग्गा र भवन हस्तान्तरण गर्ने घोषणा गरेका थिए । 

व्यवसायी  गुरुङले त्यही जग्गादानको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुनुभन्दा अघि नै उक्त जग्गा आफ्नो कम्पनीको नाममा सारेको देखिन्छ ।

सर्वोच्चमा आजै पेशी 

एमालेलाई भाटभटेनीलेजग्गादान गरेको विषयमा प्रश्न उठाएर दायर भएको रिटमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । 

आज (सोमबार) का लागि रोखिएको सुनुवाइ न्यायाधीशहरु डा. नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । पाण्डेय संसदीय सुनुवाइबाट अनुमोदन भएर हिजो मात्रै नियुक्त गरिएका हुन् ।