उपनिर्वाचनमा माओवादीले समाजवादी मोर्चाबाहेकसँग चुनावी तालमेल नगर्ने
काठमाडौं, २६ कात्तिक । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदार बाहेकका दलसँग सहकार्यको ढोका खुला राख्ने जनाएको छ । माओवादी केन्द्रले समाजवादी मोर्चासँग उपनिर्वाचनमा सहकार्यका लागि ढोका खुला राखेको हो ।
आज (सोमबार) बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थानीय तह उपनिर्वाचनलगायतका विषयमा छलफल गरिएको थियो । ‘समाजवादी मोर्चासँग सहकार्यको ढोका खुला राख्ने भन्ने छ ।’उक्त बैठकपछि माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले भनिन् ।
यस्तै, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, ‘कांग्रेस–एमालेसँग सहकार्य हुँदैन । अरुसँग भने छलफलका लागि खुला रहने भन्ने छ ।’
बैठकमा माओवादीको माहोल देशभर राम्रो हुँदै गएको बताउँदै चुनाव जित्ने सम्भावना रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संश्लेषण गरेका थिए । त्यसकारण माओवादी केन्द्रको पक्षमा नतिजा निकाल्ने गरी अझै मिहिनेत गर्न उनले नेताहरुलाई निर्देशनसमेत दिए ।
स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रले जित्ने गरी तयारी गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उपनिर्वाचनमा सफलता हासिल गर्ने गरी कार्ययोजना पनि बनाइएको उनले बताए ।
जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने र आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय समेत भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।