हेटौंडामा हावा भर्ने क्रममा टायर पड्किँदा १ जनाको मृत्यु, ५ घाइते
काठमाडौं, २७ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिका –११ थानाभर्‍याङमा ट्यांकरको टायर पड्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज छन् । उनी हेटौंडा टायर मर्मत पसल सञ्चालक हुन् ।
सोमबार राति करिब एक बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको ट्यांकरको टायरमा हावा भर्ने क्रममा पड्किएको थियो ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार, टाउकोमा चोट लागेर गम्भिर घाइते भएका मोहम्मद ऐजाजको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिकाका १८ वर्षीय जाबिर हवारी, हेटौंडा–११ का ३९ वर्षीय देवान लामा, हेटौंडा–११ कै ४७ वर्षीय मोहनलाल दुलाल, धादिङको धुनिबेशी नगरपालिका–२ का २३ वर्षीय उत्तम बस्नेत र धादिङको थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भएका छन् ।
प्रहरीका अनुसार, लामाको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जना उपचारपछि डिस्चार्ज भइसकेको छ ।