कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २ सय १४ रनको लक्ष्य

कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २ सय १४ रनको लक्ष्य

काठमाडौं, २७ कात्तिक । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतसामु २ सय १४ रनको चुनौती पेश गरेको छ ।

दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतोको सानदार शतकमा २ विकेट गुमाएर २१३ रन जोड्यो । 

नेपालकी कप्तान पूजा महतोले १३० र सोनी पाख्रिन ४३ रनको अविजित इनिङ खेले । पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाउँदा सोनी ३३ बलमा दुई चौका मद्दतमा ४३ रनमा अविजित रहिन् ।  उनीहरूले तेस्रो विकेटका लागि ८४ बलमा १५७ रनको साझेदारी गरे ।

सावित्रि धामीले ११ र  सान प्रविनले ६ रन बनाए । कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक/एक विकेट लिए ।

प्रतियोगितामा चारमध्ये तीन खेल जितेको नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको थियो । नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । कुवेत भने लगातार चार पराजय व्यहोर्दै अंकविहीन छ ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । त्यसपछि यूएईसँग १३ रनले पराजित भएको नेपालले थाइल्याण्डलाई फेरि १०६ रनले पराजित गयो । 

चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।

घरेलु टोली यूएई सबै चार खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा छ । यूएईले आज थाइल्याण्डसँग खेल्नेछ ।

लिग चरणको अन्तिम खेलमा बुधबार नेपालले यूएईको मुकाबिला गर्ने छ ।