पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान

पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौं, २७ कात्तिक । ज्यान मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँको फैसला गरेको थियो ।

 उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले बाँकी समय कारागारमा बिताउनुपर्ने छ ।

न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको ज्यान मुद्दाको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

सर्वोच्चबाट पनि दोषी ठहर भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।