मुख्यमन्त्री शाहले भने– संघले निकास नदिए प्रदेश राजधानीको विकल्प खोज्छौं

मुख्यमन्त्री शाहले भने– संघले निकास नदिए प्रदेश राजधानीको विकल्प खोज्छौं

धनगढी, २७ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले प्रक्रियागत अनुमति नदिएमा प्रदेश राजधानीको विकल्प खोजिने बताएका छन् ।

आज (मंगलबार) प्रदेश सरकार १०० दिन पुगेको सन्दर्भमा भएका कार्य प्रगति सार्वजनिक गर्नेक्रममा मुख्यमन्त्री शाहले प्रदेश राजधानी घोषणा भएको लामो समयसम्म कार्यान्वयन हुन नसकेकाले विकल्प खोजिने बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष भेट गरी सुदूरपश्चिमको राजधानी निर्माणका सम्बन्धमा के–के काम भए भनेर सोधिएको जानकारी दिए ।

प्रधानमन्त्रीलाई लिखित रूपमै राजधानीका हकमा भएका प्रक्रियागत कामबारे जानकारी लिइने बताउँदै शाहले अन्य विकल्पमा जान दिन समेत अनुरोध गरिएको बताए । 

‘मैले प्रधानमन्त्री ज्यूलाई लिखित रूपमै प्रदेश राजधानीको हकमा प्रक्रिया के–के भएको छ भनेर सोधेको छु, अहिले तोकिएको राजधानी निर्माण गर्न संघले अनुमति दिएन भने पनि विकल्पमा जान दिनुपर्छ, सबै विकल्प खुल्ला गर्नुपर्छ भनेको छु ।’ मुख्यमन्त्री शाहले भने ।

उनले प्रदेश सभाको हिउँदे अधिवेशनमा प्रदेश राजधानीको विकल्पबारे छलफल अघि बढ्न सक्ने बताए ।

१२ असोज २०७६ मा तत्कालीन प्रदेश सभाले सुदूरपश्चिम प्रदेशको राजधानी र नाम सम्बन्धी प्रस्ताव पारित गरेको थियो । सरकारले प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा पर्ने तेघरी जंगलमा तोकिदिएपछि त्यतिबेला प्रतिपक्षमा रहेका नेपाली कांग्रेस लगायतका दलले विरोध प्रकट गरेका थिए ।