प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र शाहीको १० बुँदे ज्ञापनपत्र

प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र शाहीको १० बुँदे ज्ञापनपत्र

काठमाडौं, २८ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीको विकासका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

उक्त ज्ञापनपत्रमा कर्णालीको दुरावस्थामा सुधार ल्याउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको छ ।

सांसद् शाहीले संविधान जारी भएको दशक बितिसक्दा पनि कर्णालीले स्वास्थ्य, शिक्षा, कृषि, र पूर्वाधारमा आवश्यक सुधार र प्रगति नदेखेको बताउँदै राज्यको ध्यानाकर्षण गराएका हुन् ।

उनले कर्णालीमा अहिले पनि न्यूनस्तरको जीवनयापन भइरहेको र राज्यले स्थानीय आवश्यकता अनुसार सुधारका कार्यक्रमहरू अघि नबढाएको उल्लेख गरेका छन् ।

जुम्ला लगायत कर्णाली क्षेत्रको कृषि र विशेष गरी स्याउ उत्पादनलाई प्राथमिकतामा राखेर कृषकलाई सशक्त बनाउन र आर्थिक लाभ दिन व्यवस्था गर्न ज्ञापनपत्रमार्फत आग्रह गरेका छन् ।

उक्त ज्ञापनपत्रमा आत्मनिर्भर कृषि उत्पादन, स्वदेशी फलफूल र तरकारी उत्पादनलाई आधुनिकिकरण गर्दै साना तथा ठूला किसानलाई आर्थिक रूपमा सबल बनाउन सरकारी विधेयक ल्याउन अनुरोध गरिएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदहरूमा योग्यता आधारित नियुक्ति हुनुपर्ने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदहरूमा राजनीतिक नियुक्तिको सट्टा योग्य व्यक्तिहरू नियुक्त गर्न पनि माग अघि सारिएको छ । 

कर्मचारीको व्यवस्थापन र तलबरभत्ता सुधार आवश्यक रहेको र स्थायी शिक्षक तथा कर्मचारीहरूले लामो समयदेखि तलब/भत्तामा अनियमितता भोग्दै आएको बताइएको छ । 

यस्तै, डायलासिस मेसिनको संचालन गर्नुपर्ने र यसका लागि दक्ष जनशक्तिको आवश्यकता रहेको औंल्याइएको छ ।

‘अस्पताल सेवा र शैक्षिक कार्यक्रममा अवरोध नहोस्, प्राध्यापक र सहप्राध्यापक पदमा शीघ्र नियुक्ति गरियोस्’ शाहीले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

एमआरआई मेसिन लगायत अन्य स्वास्थ्य उपकरण खरिदका लागि बजेटको व्यवस्था गर्न समेत माग गरिएको छ ।

यसैगरी, जुम्लामा उत्पादन भएको स्याउ उचित मुल्यमा खरिद गरी बजार व्यवस्थापन गर्न स्याउ कर्पोरेसनको स्थापनाको माग पनि उनले गरेका छन् । 

ओखरलगायत फलफूलको उत्पादन बढाउन विज्ञहरूको दरबन्दी राखेर छुट्टै फलफूल विकास कार्यालय स्थापना गरिनुपर्ने माग राखिएको छ ।

कर्णाली राजमार्ग र वैकल्पिक सडक स्तरोन्नतिको पनि उनले राखेका छन् । कर्णाली राजमार्ग तथा वैकल्पिक सुर्खेत–दैलेख–नाग्मा सडकको स्तरउन्नति तथा मर्मत गर्न पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको छ ।