दार्चुला जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ८ पुग्यो, ५ जना घाइते
धनगढी, ३० कात्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
प्रहरीका अनुसार, बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्‍याइएका थप दुई जनाको पनि मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजीव बस्नेतले सबै मृतकको सनाखत भएको पुष्टि गरे ।
उनका अनुसार मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।
दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको उनले जानकारी दिए ।
यस्तै, बैतडीको डिलासैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि निधन भएको छ ।
दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशी सहितका ५ जना घाइते छन् ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गईरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।