दार्चुला जिप दुर्घटना: गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइयो

दार्चुला जिप दुर्घटना:  गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरबाट धनगढी ल्याइयो

धनगढी, ३० कात्तिक । दार्चुलामा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई उपचार गर्न कैलालीको धनगढी ल्याइएको छ ।

दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहित तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् थप उपचारका लागि धनगढी ल्याइएको हो ।

घाइतेहरुलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

हेलिकोप्टरले पहिलो चरणमा जिप चालक सुनिल जोशीसहित डिलासैनी ४ बैतडीका उत्तम रोकाया, सुनिलदत्त जोशी र सन्जीव रावललाई उपचारका लागि धनगढी ल्याएको हो ।

आज (शुक्रबार) बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।

दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको छ ।

सबै मृतकको सनाखत भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजीव बस्नेतले जानकारी दिए ।

यस्तै, बैतडीको डिलासैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ ।