अतिक्रमित संरचना हटाउन डोजर लिएर गौशाला पुग्यो नगर प्रहरी

अतिक्रमित संरचना हटाउन डोजर लिएर गौशाला पुग्यो नगर प्रहरी

काठमाडौं, ३० कात्तिक । काठमाडौं महानगरपालिका नगर प्रहरीको टोली गौशाला क्षेत्रका अतिक्रमति संरचना भत्काउन डोजर सहित पुगेको छ ।

महानगरले चक्रपथ सडक सीमाभित्र अनाधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काउन लागेको हो । 

नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना महानगरपालिकाले हटाउन पुगेको जानकारी दिए ।

‘अहिले हामी डोजर सहित गौशाला क्षेत्रमा छौं, यो धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका संरचना भत्काउन आएका हौं । केही बेरदेखि अवरोध भइरहेको छ । अहिले छलफल हुँदैछ’, अर्यालले भने । 

उनका अनुसार पक्की र कच्ची गरी १०–१२ वटा संरचना हटाउनुपर्ने छन् ।

चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति दिएको जानकारी दिए ।