रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगियो

रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगियो

बुटवल, ३० कात्तिक । सहकारीको रकम अनियमितता आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एयरको विमानमार्फत पोखरा लगिएको हो । 

गत मंगलबार कास्कीबाट विमानबाट भैरहवा बयानका लागि ल्याइएका लामिछानेको बयान हिजो (साँझ) अबेर सकिएको थियो ।

उनलाई आज बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध यएरको जहाजबाट कास्की लगिने तयारी भए पनि एयरपोर्ट नखुलेका कारण यति एअरलाइन्सको जहाजबाट साढे एक बजे पोखरा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले विमानस्थल खुल्नेबित्तिकै लामिछानेलाई पोखरा पठाइएको जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले  सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग  ३ दिनमा साढे २३ घण्टा लगाएर बयान लिइएको जानकारी दिए ।

न्यायधिवक्ता पौडेलका अनुसार, गत मंगलबार मध्यान्न कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टाको बयानमा ७४ वटा सवालको जवाफ लिइएको हो । 

ईलाका प्रहरी कार्यालय बुटवलले सहकारी ठगीमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा चलाएपछि अदालतको आदेश अनुसार पक्राउ पूर्जी समेत जारी भएको थियो ।

सुप्रिमबाट लामिछानेले २ करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबीन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।