गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
काठमाडौं, २ मंसिर । गृहमन्त्री रमेश लेखक र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीबीच भेटवार्ता गरेको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान भएको भेटवार्तामा नेपाल–भारत सीमा सुरक्षाका विषयमा छलफल भएको थियो ।
सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न गृहमन्त्री लेखकले जोड दिएका थिए ।
उनले नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्ने उल्लेख गरे ।
नेपाल–भारत सीमा नाकामा ओहोर दोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न पनि मन्त्री लेखकले आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
सीमा सुरक्षा बलले सीमामा गर्ने कामकारबाहीले दुई देशबीचको सम्वन्ध थप बलियो हुने मन्त्री लेखकको विश्वास थियो ।