रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने, स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने

रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने, स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने

काठमाडौं, २ मंसिर । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारी नदिने  जनाएको छ । 

रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने जानकारी दिए । 

‘हाम्रो उम्मेदवारी हुँदैन । स्वतन्त्र उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिन्छ,’ उनले भने । 

तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले स्पष्ट पारेका छैनन् ।

यसअघि रास्वपाले कीर्तिपुर मेयरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने बताइएको थियो । 

नेकपा एमालेका डा.सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन कीर्तिपुरको मेयरमा उम्मेदवार बनेका छन् ।

कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।

एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले भने कीर्तिपुरको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको बताइएको छ ।