प्रधानमन्त्री ओलीले खिसिट्युरी गर्नुभयो, तर ५ मिनेट समय पनि दिनुभएन: रास्वपा

प्रधानमन्त्री ओलीले खिसिट्युरी गर्नुभयो, तर ५ मिनेट समय पनि दिनुभएन: रास्वपा

काठमाडौं, २ मंसिर ।रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीले समय उपलब्ध नगराएपछि आफूहरुले दोस्रो चरणको आन्दोलन पनि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपरेको बताएको छ ।  

८ मंसिरदेखि हुने दोस्रो चरणको आन्दोलनको मागपत्र बुझाउन पनि प्रधानमन्त्रीले समय नदिएको आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले बताए ।

‘५ दिन प्रयास गर्‍यौं, कुनै कार्यक्रममा भाषण गर्ने क्रममा ज्ञापन लिएर आउँछन् होला फोटो खिचेर पठाउँला भनेर खिसिट्युरी गर्नुभयो, ५ मिनेट मात्र समय दिनुस् भनेर ५ दिनदेखि अनुरोध गर्दा पनि बेवास्ता गर्नुभयो’,  झाले भने ।

प्रधानमन्त्रीको सचिवालयले भेट्न समय मिलाउने आश्वासन दिइरहेको तर प्रधानमन्त्रीकै अरुची देखिएको कार्यबाहक प्रवक्ता झाको भनाइ छ ।  ‘हामी आउँछौं भन्ने कुराको खिसिट्युरी गर्नुभयो, तर समय दिनुभएन’, उनले भने ।

रास्वपा सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सकिने पर्याप्त आधार र कारण हुँदाहुँदै हिरासतभित्र राखिनु राजनीतिक प्रतिशोध भएको आरोप उनले लगाए । 

रास्वपाले आफ्ना सभापति लामिछानेको पक्राउ, सरकारको कामकारबाही, मुलुकको अर्थतन्त्रलगायतका विषय उठाएर ८ मंसिरदेखि आन्दोलन थाल्ने घोषणा गरेको हो ।