पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि भोलि
काठमाडौं, २ मंसिर । आज ( आइतबार) निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको भोलि (सोमबार) मात्र अन्त्येष्टि गरिने भएको छ ।
वेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले सोमबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दियो ।
ढुंगानाका भाञ्जा सुरज भट्टराईका अनुसार उनका छोरा डा.निमेष ढुंगाना म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गर्छन् । ढुंगानाका अर्का छोरा निशेष र छोरी नीतिका भने नेपालमै छन् । उनको शव आइतबार त्रिवि शिक्षण अस्पतालमा राखिने भएको छ ।
नेपाली कांग्रेस, संघीय संसद सचिवालय र नेपाल बार एशोसिएसनमा ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन प्रस्ताव आए पनि कतै नराखिने भट्टराईले जानकारी दिए ।
कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो ।