रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी, पोखराबाट ल्याएर अनुसन्धान गरिने
काठमाडौं, २ मंसिर । सहकारी अनियतिता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतले आज (आइतबार) पक्राउ पुर्जी जारीका लागि अनुमति दिएको हो ।
रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
उनीहरु दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको अदालत स्रोतले पुष्टि गर्यो । यससँगै कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी रकम हिनामिना प्रकरणमा उनीहरुमाथि अनुसन्धान गर्ने बाटो खुल्ला भएको छ ।
यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान प्रक्रिया सुरु गरेको हो ।