बसले ठक्कर दिँदा सुनसरीमा एक बालिकाको मृत्यु, बसमा आगजनी

बसले ठक्कर दिँदा सुनसरीमा एक बालिकाको मृत्यु, बसमा आगजनी

 विराटनगर, २ मंसिर । सुनसरीको खनारमा यात्रुबाहक बसले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ । 

कोशी राजमार्गअन्तर्गत खनारको शान्ति चोकमा मे १ ख ४५७४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा साइकल यात्री इटहरी उपमहानगरपालिका– १० की १३ वर्षीया सम्झना यादवको निधन भएको हो।

स्थानीय जनता माध्यमिक विद्यालयमा अध्ययनरत उनलाई स्कुलबाट घर फर्कनेक्रममा बसले ठक्कर दिएको थियो। ठक्करपछि बालिकाको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनापछि घटनास्थलबाट भागेको बसलाई आक्रोशित भएका स्थानीयले कोशी राजमार्गको खनार चोकस्थित सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै आगो लगाइदिएका हुन्। आगलागीबाट बस पूर्ण रुपले क्षतिग्रस्त भएको छ ।

ठक्करपछि असन्तुष्ट बनेका स्थानीयले कोशी राजमार्ग अवरुद्ध पारेका छन् । प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयासमा बल प्रयोग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार स्थानीयले सडक अवरुद्ध गरेपछि अहिले खनारमा तनावग्रस्त स्थिती सृजना भएको छ । स्थानीय आन्दोलनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।

 बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।