माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

काठमाडौं, ३ मंसिर । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । माओवादी केन्द्रले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी पदाधिकारी बैठक डाँकेको थियो ।

उपाध्यक्ष एवम् पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको हो ।

आज पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जली लगायतका कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यतालिका छ ।

अब पदाधिकारीको बैठक मंसिर ४ गते बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक लगायतका एजेण्डामाथि  छलफल हुने  बताइएको छ ।